Section 105
दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
(१) कर बक्यौता रहेको व्यक्तिसँग रहेको दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्ने सूचना विभागले कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दिइएको सूचनालाई दफा १०४ को उपदफा (२) बमोजिम दिइएको सूचनामा समावेश गर्न वा त्यस्तो सूचनासँग संलग्न गरिदिन सकिनेछ । यस्तो सूचनामा देहायका कुराहरु स्पष्ट रुपमा खुलाई कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछः-

(क) दाबी गरेको सम्पति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय,र

(ख) मूर्त सम्पत्तिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान ।

(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएपछि देहाय बमोजिम गर्न सक्नेछः-

(क) कुनै पनि समयमा सो सूचनामा उल्लिखित मूर्त सम्पत्ति कब्जामा लिने,

(ख) मूर्त सम्पत्ति कब्जामा लिने प्रयोजनको लागि उपदफा

(१) को सूचनामा उल्लिखित कुनै परिसरमा कुनै पनि समयमा प्रवेश गर्न, र

(ग) जग्गा जमिन वा भवन बाहेकका -मूर्त सम्पत्तिका सम्बन्धमा त्यस्ता सम्पत्तिहरु कर बक्यौता रहेका व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्झेको कुनै पनि स्थानमा राख्न ।

(४) बिभागले उपदफा (१) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएकोमा देहायको समयमा त्यस्ता दाबी गरेको सम्पत्ति सार्वजनिक रुपमा लिलाम बिक्री गर्न वा उपयुक्त सम्झेको तरिकाबाट त्यस्तो सम्पत्तिको बेचबिखन वा चलन गर्न सक्नेछः-

(क) दाबी गरेको सम्पत्ति जग्गा जमिन वा भवन भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको मितिले तीस दिन पछि,

(ख) दाबी गरेको सम्पत्ति नाश हुने मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको एक दिन पछि,

(ग) दाबी गरेको सम्पत्ति खण्ड (क) वा (ख) मा उल्लिखित सम्पत्ति बाहेकका मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको दश दिन पछि,र

(घ) अन्य कुनै किसिमको सम्पत्ति भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको दश दिन पछि ।

(५) उपदफा (४) बमोजिम लिलाम बिक्रीबाट प्राप्त रकमबाट सर्वप्रथम लिलाम बिक्री गरिएको सम्पत्तिको दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च कटाईनेछ । यसरी खर्च कट्टी गरी सकेपछि बुझाउनुपर्ने कर र दफा ११९ बमोजिम सो करका सम्बन्धमा बुझाउनुपर्ने ब्याज कटाइनेछ र त्यसपछि कुनै रकम बाँकी रहन आएमा त्यस्तो रकम कर बक्यौता रहेका व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।

(६) लिलाम बिक्रीबाट प्राप्त रकम उपदफा (५) बमोजिम मिलान गरिसकेपछि विभागले सो मिलानको प्रक्रिया खुलाईएको लिखित सूचना कर बक्यौता रहेका व्यक्तिलाई दिनु पर्नेछ ।

(७) लिलाम बिक्रीबाट प्राप्त रकमलाई उपदफा (५) बमोजिमको प्रक्रिया अपनाई मिलान गर्दा सो उपदफामा उल्लिखित खर्च, कर र ब्याज बापतको रकम पूर्णरुपमा भुक्तानी गर्न अपर्याप्त भएमा विभागले नपुग रकम असुल उपर गर्न दफा १०४, १११ वा यस दफा बमोजिम पुनः कारबाही प्रारम्भ गर्नु पर्नेछ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-

(क) “दाबी: गरेको सम्पत्ति” भन्नाले अग्रिम कर क्ट्टी गर्ने व्यक्तिले दफा १०३ को उपदफा (२) वा दफा १०४ को उपदफा (२) मा उल्लिखित कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति सम्झनु पर्छ ।

(ख) “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले दफा १०४ बमोजिम दाबी र लिलाम किकत्री गर्दा गरेको खर्च सम्झनु पर्छ ।

(ग) “कर बक्यौता रहेको व्यक्ति” भन्नाले दफा १०३ र १०४ मा उल्लिखित अग्रिम कर क्ट्री गर्ने व्यक्ति समेतलाई सम्झनु पर्छ ।